Mandala Online

One stop destination for music lovers
News

News

कोपेनहेगनमा नेपाली चाइल्ड हिरो

कोपेनहेगनमा नेपाली चाइल्ड हिरो

कोपनहेगन, १८ जुलाई

डेनमार्कको कोपेनहेगनमा गत् आइतबार नेपाली बालबालिकाहरुको लागि एउटा रमाइलो जमघट भयो । नेपाली बालबालिकाहरुको भेला गरेर उनीहरुलाई विभिन्न खेलहरु खेलाएर पदक वितरण गर्दै सम्पन्न हुने यो कार्यक्रम हरेक वर्षको  समरमा कोपेनहेगनमा हुने गर्छ । बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएका डेनमार्ककै पुरानो नेपाली संस्था स्क्याण्डेनेभियन हेल्पले स्क्याण्डेनेभियन चाइल्ड हिरो नाम दिएर कार्यक्रमको आयोजना गरेको हो । 
कार्यक्रममा आफ्ना बाबु नानीहरुलाई सहभागि गराउन कार्यक्रम हुनुभन्दा पहिले देखि नै नाम दर्ता गराउनु पर्ने यस बाल भेलामा हरेक वर्ष बालबालिकाको उपस्थिती र अभिभावकहरुको उत्सुकता उल्लेखनीय रुपमा बढ्दै गएको पाइएको छ । कोपेनहेगनमा हुने विभिन्न प्रकारका नेपाली कार्यक्रमहरु मध्ये बेग्लै र नितान्त बाल सरोकारको कार्यक्रम भएकोले पनि यस भेलाप्रतिको मोह बढेको देखिन्छ ।
यस वर्ष पनि सहभागि सबै बालबालिकाहरुलाई विभिन्न मनोरन्जनात्मक खेलहरु खेलाइएको थियो । बाल बालिकाहरुलाई मानसिक असर नपरोस भनेर यस कार्यक्रममा सबै बालबालिकाहरुलाई समान रुपमा मेडल प्रदान गरिन्छ जसले गर्दा सबै बालबालिकाले आफुलाई विजेताको महशुस गर्छन । आइतबार सम्पन्न कार्यक्रममा सहभागि बालबालिकाहरुलाई शिभांश विमली ट्रष्टका नवीन विमलीले पदक वितरण गरेका थिए । केही महिना पहिला निधन भएका नेपाली बालक शिभांशको स्मृतिमा उनका अभिभावकहरुले ट्रष्टको स्थापना गरेका हुन ।
कार्यक्रमलाई सफल बनाउन कोपेनहेगन स्थित सामाजिक, राजनीतिक तथा व्यापारिक संस्थाहरुले सहयोग गरेका थिए । एभरेष्ट रेमिटेन्स, जन सम्पर्क समिति, बेक एण्ड केक, भान्छा घर, रोयल आग्रा लगायतको सहयोग रहेको स्क्याण्डेनेभियन हेल्पले जनाएको छ । 
(माथिको फोटो स्क्याण्डेनेभियन हेल्पको फेसबुक पेजबाट लिइएको हो ।) 

More News

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP