Mandala Online

One stop destination for music lovers
Interview Page

Interview

मैले एक्सपोज गर्ने भनेको ‘छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ' भन्या जस्तै हो : ज्योति मगर

मैले एक्सपोज गर्ने भनेको ‘छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ' भन्या जस्तै हो : ज्योति मगर

मान्छेहरू ज्योति मगरलाई हट र सेक्सी गायिकाको रूपमा चिन्छन । तर उनी स्वभिमानि, हक्कि र निडर छिन । भन्छिन्, आफ्नो सीमा आँफैले तोक्नु पर्छ र मनमा लागेको कुरा अरु को डरले दबाउनु हुदैन । मन्डला रेडियोले गएको क्रिस्मसमा कोपेन्हेगनमा आयोजना गरेको कन्सर्टमा सहभागी ज्योतिसँग पत्रकार डिबि खड्काले नागरिक दैनिकको साप्ताहिक प्रकाशन शुक्रबारको लागि कुराकानी गरेका रहेछन् । माघ १६ गतेको शुक्रबारको पेज ६ मा छापिएको ज्योति सँगको कुराकानीको साभार :-

केटाकेटीको जाडो बाख्राले खान्छ भन्थे। तपाईं जाडोमा पनि स्टेज कार्यक्रममा छोटै पहिरनमा देखिनुहुन्छ। तपाईंको जाडोचाहिँ केले खान्छ?

जाडो केहीले खाँदैन। अरू समय मलाई धेरै जाडो लाग्छ। यी (आफूले लगाएको ओभरकोटभित्र स्विटर देखाउँदै) अनलिमिटेड लुगा लगाएकी छु। तर, जब स्टेजमा उक्लिन्छु, त्यो मास, त्यो हुटिङ र त्यो तालीले मेरो जाडो खाइदिन्छन्। साँच्चै भन्नुपर्दा मेरो गायनले तातेका दर्शकको तातो मसम्म आइपुग्छ। 

तपाईं लोकदोहोरी गाउनुहुन्छ। तर, पहिरन शैलीचाहिँ पूरै ‘वेस्टर्न' छ!

लोकदोहोरी गाउनेले यस्तो पहिरन लगाउने, आधुनिक गाउनेले यस्तो लगाउने र पपगायकले यस्तो लगाउने भनेर ड्रेस कोड लागू गरिएको छ र? म नेपाली हुनुमा र नेपाली लोकगीत गाउनुमा गर्व गर्छु। तर, लोकगायिका भएपछि सारी–चोली नै लगाउनुपर्छ भन्ने मान्दिनँ। किनकि, म पनि नयाँ फेशन मन पराउने आम आधुनिक नेपाली युवती हुँ। फरक यत्ति हो, म लोकगीत गाउँछु, अरू नगाउन सक्छन्। 

दोहोरी कलाकारकै संघसंस्थाका नेताहरूले फेसबुकतिर तपाईंको विरोध जनाइरहेका छन्। उस्तै परे आफ्नो ‘सर्कल'बाट तपाईंलाई ‘आउट' गर्ने कुरा पनि भइरहेको छ रे!

मलाई पनि यस्तै केही धम्की फोनमार्फत आएका छन्। उहाँहरू पनि महिलालाई हेप्ने आम नेपाली मानसिकताबाट माथि उठ्न सक्नुभएको छैन भन्ने प्रस्टिन्छ। उहाँको ध्यान आकृष्ट होस्, त्यही संस्थामा नेता रहेका पुरुष कलाकारले कस्तो ड्रेस लगाउँछन्? गेटअप कस्तो छ? पुरुष लोकगायकले ठाडो कपाल टाटेपाँग्रे गर्ने, कानमा मुन्द्रा लगाउने, घाँटीमा नानाभाँती सिक्री लगाउने गर्छन्। उनीहरूचाहिँ माइकल ज्याक्सनलाई, हनी सिंहहरूलाई उछिन्ने गरी स्टाइल गर्छन्। हामी त शाकिरा र रिहाना भएका छैनौँ त। कुनै महिलाले आधुनिक पहिरन लगाउँदा विरोध गर्ने यो प्रवृत्ति कहाँसम्म न्यायोचित छ? सबै पुरुष लोकगायक नेपाली पहिरनमा देखिएको दिन म पनि चोली–सारीमा हुनेछु। उहाँहरूलाई प्रश्न छ मेरो– सकिन्छ गर्न त्यस्तो? 

समाजले तपाईंको शैलीलाई स्विकार्छ कि स्विकार्दैन भन्ने कुराले पनि अर्थ राख्ला नि। कतिपय ठाउँमा दर्शकले नै तपाईंको पहिरनको विरोध गरिरहेका छन्?

दर्शकले मेरो स्वर र शैलीलाई बहिष्कार गर्थे भने मेरा गीत हिट हुन्थेनन्। मैले गाउने कार्यक्रममा आउँथेनन्। ‘सौ'मा नौ जनाले विरोध गरे रे। म नौजनालाई महŒव दिउँ्क कि ९१ जनालाई? 

ती नौजनाको कमेन्टलाई पनि स्विकारेर सुधार्दा शतप्रतिशत राम्रो भइएला नि त?

कमेन्टको नियत बुझ्नुपर्छ। कसैले मेरो हित चिताएर कमेन्ट गर्छ भने त्यसलाई स्विकारेर अगाडि बढ्नुपर्छ, जुन मैले गरि पनि रहेकी छु। तर, कतिपय कमेन्ट पूर्वाग्रही हुन्छन्। फेरि, मेरो लुगा अरूले तोक्ने होइन, तय गर्ने होइन। म आफैँले तय गर्ने हो। 

आफूबारे यस्तो कमेन्ट आउँदा चित्त त दुख्दो हो!

दुख्थ्यो, अहिले वास्ता गर्दिनँ। भन्छन् नि, भाँच्चिएर जोडिएको हड्डी अझ बलियो हुन्छ। त्यस्तैगरी मेरो चित्त दुखेर बलियो भइसक्यो। 

त्यस्तो पहिरनमा देखिनुहुन्छ, तस्बिरहरू पनि उस्तै खिचाउनुहुन्छ। नानाभाँती अफर आएर हैरान पार्दा हुन्?

मान्छे जस्तो देखिन्छ, त्यस्तो हुँदैन। मलाई बाहिरी रूपमा हेरेर धेरैले ‘रङ नम्बर' डायल गर्छन्। सबैभन्दा रमाइलो कुरा, ज–जसले बाहिर संस्कारका कुरा गर्छ, उनीहरू नै भित्री रूपमा घटिया हुन्छन्। मैले एक्सपोज गर्ने भनेको ‘छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ' भन्या जस्तै हो।

भनेपछि हेर्दा भलाद्मी लाग्ने मान्छेले त्यस्ता अफर गरे?

मसँग पनि एउटा भ्रम थियो, जो टाइसुट लगाएर चिटिक्क परेर हिँड्छ, सबैलाई ज्ञानगुनका कुरा भन्दै हिँड्छ, त्यो मान्छे साँच्चै संस्कारी होला। जो रफटप हुन्छ, केटीहरूको संगत गरिरहन्छ, त्यो खत्तम होला। तर, आवरणका ती भलाद्मीहरू मौका मात्रै पर्खिरहेका हुँदा रहेछन्। जब एक चरणमा आएर उनीहरू भित्री कुरा देखाउँछन्, त्यो झन् डरलाग्दो हुन्छ। जो बाहिर खराब देखिन्छ, त्योसँग सबै जोगिएर हिँड्छन्। जो असल देखिन्छ, त्यो खराब भइदियो भने आउने परिणाम बेग्लै हुन्छ। 

तपाईंलाई एक्सपोजको मोह धेरै नै छ। हिरोइन हुनुपर्ने हो, कहाँबाट लोकगायिका बन्न पुग्नुभयो?

सानैदेखि फिल्म हेरेका हुनाले हिरोइन हुने रहर पनि थियो। स्कुलमा पनि ड्रामा गर्थें। तर, गायिका बन्ने वातावरणले नै बढी प्रभाव पार्योर। यतैतिर मोडिएँ। 

गायिका बनेपछि ट्राई गरिएन? अर्थात्, कसैले अफर गरेनन्? 

मैले प्रयास गरिनँ। अफर त्यस्ताले गर्थे, जसले फिल्म बनाउलान् भनेर पत्याउन सकिँदैनथ्यो। आफ्नो म्युजिक भिडियोमा आफैँले अभिनय गर्न थालेपछि त्यति धेरै अभिनय मोह पनि रहेन। 

औपचारिक रूपमा तपाईंको करिअर गायनभन्दा पनि मोडलिङबाट सुरु भएको हो क्यारे?

पहिलो एल्बम ‘मायासँग'मा सुरुमा म र शिरीष देवकोटाले गाएका थियौँ। गीत बजारमा पठाउन म्युजिक कम्पनीलाई दिनुपर्योब। म नयाँ भएकाले मेरो स्वरमा रहेको गीत बजारमा ल्याउन कम्पनीले मानेन। त्यतिबेला डबल भोकल हाल्ने चलन थियो। त्यसैले केटामा त्यतिबेला निकै लोकप्रिय रहेका गायक राजु परियार र केटीमा गायिका विष्णु माझी पनि मिसाउन सल्लाह दिए। यत्तिकै गीत मर्नुभन्दा ठीकै होला भनेर त्यसै गरियो। तर, गीत रिलिज हुने बेलासम्म पहिला गाउने हामी दुइटैको स्वर हराइसकेको थियो। क्यासेटको कभरमा गायिका भनेर तस्बिर टाँस्ने रहरमात्रै पूरा भयो। म्युजिक भिडियोमा पनि आफैँ नाचेँ। 

रेडियो नाटक पनि गर्नुभएको थियो, हैन? 

एन्टेना फाउन्डेसनको ‘नयाँ बाटो, नयाँ पाइला' भन्ने रेडियो नाटककी प्रमुख पात्र ‘कमली'का रूपमा चार वर्ष काम गरेँ। भर्खरै काठमाडौँ आएकी थिएँ, नाटकका लागि अडिसन चलिरहेको थियो। मैले गाउँमा रहँदा पनि नाटक गरेको भएर आँट आयो, अडिसन दिएँ र छानिएँ पनि। दोहोरी साँझमा गाउने र नाटक पनि गर्ने भएकाले मेरो काठमाडौँ बसाइ निकै सहज बनेको थियो। 

गाउँतिर ‘कमली' पात्र खूब हिट थियो। कार्यक्रममा जाँदा कहिल्यै त्यो पात्र आफैँ हो भनेर चिनाउनुभएको छ? 

मैले त चिनाइनँ। तर, बर्दिबासमा कार्यक्रममा जाँदा एकजनाले मेरो आवाज सुनेर ‘कमली' भन्दै तस्बिर खिचाउन आउनुभएको थियो। 

दोहोरी गाउनचाहिँ कहिलेदेखि थाल्नुभयो?

आठ कक्षा पढ्दादेखि नै। पूजाको समयमा गाउँका एकजना पाका लोकदोहोरी गायकसँग मैले दोहोरी गाएकी थिएँ। मलाई टुक्का बनाउन आउँथेन, सुनेका टुक्काहरू प्रसंगमा मिलाएर गाएकी थिएँ। उमेर पुगेका ठूला केटीहरूले मात्रै गाउने गरेका थिए। यस्तो गर्नुलाई गाउँमा ‘छोट्टी बस्नु' भनिन्थ्यो। हामी सानै उमेरमा छोट्टी बसेका भनेर बाआमाले खूब कराएका थिए। मैले कहिल्यै दोहोरी नगाउने भनेर कसम समेत खाएकी थिएँ। तर, गाउने रहर जागिसकेको थियो। चाँडै तोडियो त्यो कसम।

गीत रेकर्ड गराउनुअघि स्टेजमा लाइभ दोहोरी गाउनुहुन्थ्यो?

कक्षा ९ पढ्दादेखि नै लाइभ दोहोरी गाउन थालिसकेकी थिएँ। हाम्रो समूहले कहीँ जितेन, तर जहाँ पनि मैले उत्कृष्ट दोहोरी गायिकाका रूपमा पुरस्कार पाएँ। 

काठमाडौँ गायिका बन्नकै लागि आउनुभएको थियो?

हामी केही साथीहरू एसएलसी सकिएपछि घुम्न भनेर आएका थियौँ। तर, दोहोरी साँझमा दिनदिनै दोहोरी गाउन पाइन्छ भन्ने सुनेकाले त्यता काम गर्ने रहर पनि थियो। गाउने रहर त निकै थियो, तर त्यो अनुसारको ठाउँ पाइरहेको अवस्था थिएन। काठमाडौँ आएपछि दोहोरी साँझमा काम थालियो। एलएलसी पास भएपछि कलेज पढ्नका लागि यतै बस्छु भनेर घरमा ढाँटियो। 

साभार:- शुक्रबार, १६ माघ  

 

 

 

More Interviews

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP